विवादका बीच एमालेको विधान शंसोधन
मंसिर २८, २०८२ | काठमाडौं
तीन महिनाअघिको निर्णय उल्ट्याउँदै एमालेले फेरि विधान शंसोधन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन आयोजनास्थलमा बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको थियो ।
सो निर्णयलाई ११ औं महाधिवेशनको बन्द सत्रले पारित गरेको नेताहरुले बताएका छन् । अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ तथा स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय रहने गरी विधानमा परिवर्तन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
एमालेले यसअघि व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्षको पद भने नराख्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।
विधान शंसोधनप्रति वरिष्ठ उपाध्यक्ष पोखरेल र उहाँ पक्षधर नेताले भने आपत्ति जनाएका छन् । भदौ अन्तिम साता गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।
पदाधिकारीमा आउने आकांक्षी बढेपछि एमालेले विधान शंसोधन गरेको हो । यसैबीच, वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले केन्द्रिय कमिटी बैठकमा बोल्दै महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेको नेता गौतमले जानकारी दिनुभयो ।
यसैबीच एमालेले ३ सय १ सदस्यीय केन्द्रिय कमिटीका लागि समावेशी नीति अंगाल्दै प्रतिनिधित्वका लागि कलस्टर बनाएको छ । जसअनुसार काठमाडौं उपत्यका र ७ प्रदेशबाट गरी ७२ जना केन्द्रिय सदस्य निर्वाचित हुनेछन् । खुल्लाबाट ५२ महिलासहित १ सय २५ जना निर्वाचित हुने व्यवस्था गरिएको एमालेले जनाएको छ ।
जनजाति÷आदिवासीबाट २५, मधेसीबाट २०, प्रवास कमिटीबाट दुई, श्रमिकबाट ३, दलितबाट १२, थारु समुदायबाट ८, मुस्लिमबाट ५, अपाङ्गता भएका व्यक्तिबाट १ तथा पिछडिएको क्षेत्रबाट २ जना केन्द्रिय सदस्य हुने व्यवस्था गरिएको छ । तीमध्ये प्रदेश, खुला, जनजाति÷आदिवासी, मधेसी र दलित कलस्टरबाट कम्तिमा एक जना ४० वर्ष मुनिका युवाको प्रतिनिधि हुने सुनिश्चित गरिएको छ ।
भोलि विहान ११ बजेबाट उम्मेदवारी मनोनयनको प्रक्रिया शुरु हुने भएको छ । बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र प्रस्तुत गर्नुभएको छ । उहाँले पार्टी विधिसम्मत र लोकतान्त्रिक पद्धति अनुसार चलेको लगायत विषयमा उठाउनुभएको छ ।









