निवर्तमान गृहमन्त्री लेखक वयानमा जान तयार

रेडियो कान्तिपुर संवाददाता

पुस १०, २०८२ | काठमाडौं

तत्कालीन गृहमन्त्री एवम् नेपाली कंग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गते जेन जी आन्दोलनमा भएका घटनाबारे छानविन गर्न गठित जाँचबुझ आयोगमा वयान दिन तयार हुनुभएको छ । पार्टीका नेताहरुको सुझाव अनुसार तत्कालीन गृहमन्त्री लेखकले बयानका लागि जाने बताउनुभएको हो । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आगामी सोमवार वयानका लागि जाने जानकारी दिनुभयो ।

तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आयोगमा वयान नदिने सार्वजनिक अभिव्यक्ति दिइरहनुभएको छ । ओलीले आयोगको औचित्यमाथि प्रश्न समेत उठाउँदै आउनुभएको छ । पूर्व न्यायाधिश गौरीवहादुर कार्की नेतृत्वको आयोगले जेन जी आन्दोलनमा भएका घटनाबारे सुरक्षा निकायका प्रमुख लगायतसँग वयान लिइसकेको छ । गत पुष ५ गते म्याद सकिएपछि सरकारले केही दिनअघि आयोगको कार्य अवधि एक महिना थपेको थियो ।  


प्रतिक्रिया