जिल्ला र प्रदेशको अधिवेशन चुनावपछि गर्नुपर्ने महामन्त्री थापाको प्रस्ताव
पुस ९, २०८२ | काठमाडौं
नेपाली कांग्रेसको आगामी केन्द्रिय महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका बढिरहँदा वैकल्पिक उपायको खोजी भएको छ । केही प्रक्रिया थाँति राखेर पुष २६ गतेदेखि २८ गतेका लागि तोकिएको महाधिवेशन गर्नुपर्ने प्रस्तावमा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको छ ।
पूर्व निर्धारित तालिका अनुसार समयको अभाव हुने भन्दै तीन तहको अधिवेशन मात्रै गर्ने गरी अघि बढ्नुपर्ने विकल्पमा छलफल भएको नेताहरुले बताएका छन् । महामन्त्री गगन थापाले सो विकल्पसहितको प्रस्ताव राख्नुभएको हो । बैठकपछि बोल्दै महामन्त्री थापाले जिल्ला र प्रदेशको अधिवेशन पछि गर्ने गरी केन्द्रिय महाधिवेशनमा जान सकिने बताउनुभयो।
कंग्रेसले पुस १६ गतेदेखि वडा अधिवेशन सुरू गरेर ६ तहको अधिवेशनपछि पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएपनि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण कामले पूर्णता पाएको छैन । सदस्यताको विवाद मिलाउन अधिकारसम्पन्न टोली बनाउन सकिने विकल्प महामन्त्री थापाले प्रस्ताव गर्नुभएको छ ।
निर्धारित मितिमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्ने संस्थापन इतर पक्षको तयारी छ । यसैबीच, कंग्रेसका नेताहरुले तत्कालिन गृहमन्त्री रमेश लेखकलाई जेन जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगमा वयानका लागि उपस्थित हुन सुझाव दिएका छन् । केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले त्यस्तो सुझाव दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।











