मेयर बालेन्द्र शाहको सक्रियता : नयाँ दल र समूहसँग एकताको पहल
पुस १०, २०८२ | काठमाडौं
अघिल्लो निर्वाचनबाट उदाएका दल एवं जेन जी आन्दोलनपछि गठन भएका दल र समूहबीच आगामी चुनावका लागि एकता गर्ने पहलले तीव्रता पाएको छ । केही दिनअघि रास्वपाका सभापति रवि लामिछानेसँग परामर्श गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज पनि विभिन्न दलका नेता र जेन जी अभियानका अगुवाहरुसँग छलफल गर्नुभएको छ । अन्तरिम सरकारका मन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग मेयर शाहले आज विहान छलफल गर्नुभएको थियो ।
चुनाव चिन्ह लौरो भएको देश विकास पार्टीबाट निर्वाचन लड्ने योजनासहित मेयर शाहले छलफल अघि बढाउनुभएको हो । उहाँसँग भेट भएको केही घण्टापछि उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटनमा बोल्दै मन्त्री घिसिङले आगामी चुनाव नयाँ शक्तिको उदयका लागि प्रस्थानविन्दू हुनुपर्ने बताउनुभयो ।
मेयर शाहले दोस्रो पटक रास्वपा सभापति लामिछानेसँग आजै छलफल गर्नुभयो । ललितपुरको ज्वागलस्थित आफ्ना विश्वासपात्र कुमार बेनको निवासमा मेयर शाहले लामिछानेसँग केही घण्टा छलफल गर्नुभएको थियो । भेटपछि लामिछानेले सकारात्मक कुराकानी भएको र छिट्टै परिणाम देखिने जानकारी दिनुभयो । यस्तै, काठमाडौंका मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि छलफल गर्नुभएको छ । भेटपछि नेता भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिलेर जान आफूले सुझाव दिएको बताउनुभयो ।
मेयर शाहले आजै जेन जी पुस्ताका केही अभियन्तासँग सामूहिक छलफल गर्नुभएको छ । छलफलका लागि जेन जी अभियन्ता सुधन गुरुङ र रक्षा बम लगायत पुगेका थिए । छलफलपछि बोल्दै अभियन्ता बमले नयाँ शक्तिहरुबीच सहकार्य हुनेमा आफू आशावादी भएको प्रतिक्रिया दिनुभयो । मुख्य राजनीतिक दलहरुले फागुन २१ गतेका लागि निर्धारित निर्वाचनप्रति आशंका व्यक्त गरिरहँदा नयाँ दल र समूहले भने एकताका लागि पहल अघि बढाएका हुन् ।









