गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
पुस १५, २०८२ | काठमाडौं
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमु ल्होसार मनाउने चलन छ । ल्हो को अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको जानकारहरू बताउँछन् । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा मनाउने. यो पर्व गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवन शैलीसँग सम्बन्धित छ ।
पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
यसैविच, प्रधानमन्त्री सुशीला कार्कीले पर्वको अवसरमा शुभकामना दिंदै बहुसांस्कृतिक पहिचानलाई थप सुढृढ गर्दै आपसी एकता, शान्ति र सद्धभाव बढाउन पे्ररणा प्रदान हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै सबै नेपालीको जीवनका सुख र समुन्नतिको प्रधानमन्त्री कार्कीले कामना गर्नुभएको छ । सरकारले तमु ल्होसारका अवसरमा आजसार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम पनि आयोजना गरिएको छ ।










