शान्तिपूर्ण भनिएको प्रदर्शन बानेश्वर पुगेपछि हिंसात्मक बन्यो : रमेश लेखक

रेडियो कान्तिपुर संवाददाता

पुस १४, २०८२ | काठमाडौं

तत्कालीन गृहमन्त्री एवम् नेपाली कंग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनबारे छानविन गर्न गठन गरिएको जाँचबुझ आयोगमा बयान दिनुभएको छ । बयान दिएपछि पत्रकार सम्मेलन गर्दै लेखकले आफ्नो धारणा सार्वजनिक समेत गर्नुभएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको घटनामा दमन गरेको भन्दै उहाँको आलोचना हुँदै आएको थियो । तत्कालिन गृहमन्त्री लेखकले लोकतान्त्रिक मुल्यका आधारमा बयान दिन तयार भएको बताउनुभयो ।

शान्तिपूर्ण रुपमा गर्ने भनिएको प्रदर्शन बानेश्वरमा पुगेपछि हिंसात्मक बनेको लेखकको भनाइ थियो । जेनजी पुस्ताले गरेको सो अन्दोलनमा घुसपैठ हुँदा ठूलो क्षति भएको उहाँको भनाइ छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पहिलो पटक राजनीतिक नेतृत्वसँग वयान लिएको हो । यसअघि आयोगले सुरक्षा निकायका प्रमुख र प्रशासनिक निकायका प्रमुखहरुसँग वयान लिइसकेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वयान लिने तयारी गरेको छ । 


प्रतिक्रिया