रुकुम र आर्मी एनभीए भलिबलको क्वाटरफाइनलमा प्रवेश

पुस १४, २०८२ | काठमाडौं

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज सम्पन्न समूह ‘सी’को खेलमा जावलाखेल भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै रुकुम पश्चिमले अन्तिम ८ मा स्थान बनाएको हो । 

रुकुमले जावलाखेललाई २५–२०, २५–१८ २२–२५ र २५–१८ ले हरायो । 

आफ्नो पहिलो खेलमा रुकुमले बुढानिलकण्ड भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । जावलाखेलको भने यो पहिलो खेल हो ।

पुरुषतर्फ समूह ‘डी’ को खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम ८ मा प्रवेश गर्यो । 

आर्मीले कीर्तिपुरलाइ २५–१९, २५–२१ र २५–२१ ले हरायो । आर्मीले आफ्नो अघिल्लो खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । 

कीर्तिपुरको भने यो पहिलो खेल हो ।

महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लब र त्रिभुवन आर्मी क्लब तथा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया