आगामी चुनावमा टिकटका लागि हानथाप नगरौं : सभापति लामिछाने
पुस २४, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा टिकटका लागि हानथाप नगर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ । चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले टिकटका लागि दावी गर्नुको साटो विवेकसम्मत रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
अर्को प्रसंगमा रास्वपा सभापति लामिछानेले काठमाडौं मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीसँग एकता भएपछि आफूहरुको पार्टी बलियो बनेको बताउनुभयो । बलियो बनेसँगै पार्टीको जिम्मेवारी पनि बढेको उहाँको भनाइ थियो ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवारलाई अहिले भइरहेको प्रचार–प्रसार रोक्न निर्देशन दिएको छ । प्रत्यक्षतर्फका केही आकांक्षी उम्मेदवारले सामाजिक सञ्जालमा आफ्नो प्रचार–प्रसार गरिरहेको पाइएको जनाउँदै सो पार्टीको उम्मेदवार छनोट सिफारिस उपसमितिले त्यस्ता गतिविधि रोक्न भनेको हो ।
अहिले भइरहेको गतिविधिले नयाँ र बाँकी आकांक्षी सदस्य निरुत्साहित हुने रास्वपाको भनाइ छ । उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न पाउने व्यवस्था गरिएको रास्वपाले पार्टी पंक्तिलाई स्मरण समेत गराएको छ ।









