राष्ट्रियसभा निर्वाचन : ७ प्रदेशबाट ४४ जनाको उम्मेदवारी
पुस २३, २०८२ | काठमाडौं
संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशबाट ४४ जनाको मनोनयन दर्ता भएको छ । ७ प्रदेशबाट प्रतिनिधित्व हुने गरी १८ सिटका लागि हुन लागेको निर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कंग्रेस र एमालेले गठबन्धन गर्दै उम्मेदवारी दिएका छन् भने मधेस प्रदेशमा कंग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी दलको तर्फबाट संयुक्त उम्मेदवारी परेको छ ।
सिट संख्यामा सहमति नभएपछि नेपाली कम्युनिष्ट पार्टीले छुट्टै उम्मेदवारी दिएको छ । प्रदेशस्थित तोकिएका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो । सातै प्रदेशमा प्रमुख दलसहित अन्य दलले समेत उम्मेदवारी दिएका छन् । मधेसबाट ४, कोशी र लुम्बिनीबाट ३/३ तथा बागमति, गण्डकी, कर्णाली र सुदुरपश्चिमबाट २/२ जना निर्वाचित हुनेछन् ।
कोशीमा ३ सिटका लागि ५ जनाको उम्मेदवारी परेका मध्ये अन्यमा परेका एक उम्मेदवार भने र्निविरोध निर्वाचित भएका छन् । यस्तै, मधेशमा ४ सिटका लागि ११ जना, बागमती प्रदेशबाट २ सिटका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । यस्तै, गण्डकी प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा ४ जनाको उम्मेदवारी परेको आयोगको भनाइ छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा ३ जनाका लागि ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि ४ जनाको उम्मेदवारी परेको छ । आयोगका अनुसार पुस २४ गते उमेद्वारको विरोधमा उजुरी दिने, पुस २७ गते उमेद्वारले चाहेमा नाम फिर्ता लिने र सोही दिन उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
५९ सदस्यीय राष्ट्रियसभामा रिक्त हुन लागेका १९ मध्ये १८ सिटमा आगामी माघ ११ गते निर्र्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाता हुन्छन् ।
प्रदेशसभा सदस्यको मतभार ५३ हुनेछ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ हुनेछ । मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचनका लागि ५ सय ५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका १ हजार ५ सय ६ प्रमुख तथा उपप्रमुख मतदाता हुनेछन् । राष्ट्रिय सभाको रिक्त अर्को एक स्थानमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुन व्यवस्था छ ।











