आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुँदै
माघ ४, २०८२ | काठमाडौं
निर्वाचन आयोगका अनुसार आगामी चुनावका लागि निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुने भएको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै आचार संहिता राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू रहने जनाएको छ ।
यही माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचार संहिता लागू गरिएको आयोगको भनाइ छ ।
निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचार संहिता, २०८२ बमोजिम लागू गरिएको आचार संहिताको पालना तथा कार्यान्वयन गराउन आयोगले सबै सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । यसैबीच, कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले निर्वाचन आचारसंहिता लागू हुनेबारे सरकारलाई जानकारी दिएको छ ।








