सरकारद्वारा जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगको म्याद २० दिन थप

रेडियो कान्तिपुर संवाददाता

माघ ८, २०८२ | काठमाडौं

गत भदौ २३ र २४ गते भएका घटनाबारे अनुसन्धानका लागि गठन भएको जाँचबुझ आयोगको म्याद २० दिन थप भएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वमा गठन भएको आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन भएको सो आयोगलाई दोस्रो पटक म्याद थप गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

३ महिनामा घटनाबारे अध्ययन पूरा गरी प्रतिवेदन बुझाउने गरि सरकारले गत असोज ५ गते सो आयोग गठन गरेको थियो । यद्यपि सो आयोगले काम सम्पन्न गर्न बाँकी रहेको जनाएपछि १ महिना म्याद थप गरिएको थियो । 

आयोगलाई जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाबारे छानबिन गर्ने कार्यादेश दिइएको छ । कार्की नेतृत्वमा गठन भएको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन क्षेत्रका विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्छ । आयोगले राजनीतिक नेतृत्व र सुरक्षा निकायका उच्च अधिकारी लगायतसँग बयान लिइसकेको छ ।


प्रतिक्रिया