एमाले र प्रगतिशिल लोकतान्त्रिक पार्टीबीच केही जिल्लामा चुनावी तालमेल
माघ ११, २०८२ | काठमाडौं
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले र प्रगतिशिल लोकतान्त्रिक पार्टीबीच केही जिल्लामा चुनावी तालमेल भएको छ । एमालेका उपाध्यक्ष रामबहादुर थापा र प्रगतिशिल लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा सोवबीच चुनावी तालमेलका लागि ३ बूँदे सहमति भएको हो ।
सहमति अनुसार रुकुम पूर्वमा प्रगतिशील लोकतान्त्रिकका उम्मेदवार सन्दीप पुनलाई एमालेले समर्थन गर्ने भएको छ । यसअघि एमालेले लिलामणि गौतमलाई उम्मेदवार बनाएको थियो ।
सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट पुष्पकमल दाहाल, नेपाली कांग्रेसको तर्फबाट कुसुम देवी थापा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट लखन कुमार थापा लगायत उम्मेदवार छन् ।
त्यस्तै, एमालेले पश्चिम रुकुममा उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिकका जनार्दन शर्मालाई सघाउने भएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट गोपाल शर्मा, नेपाली कांग्रेसका तर्फबाट राजु केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही लगायतले उम्मेदवारी दिएका छन् ।
दुई क्षेत्रमा एमालेले सघाएवापत् प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका अन्य केही जिल्लामा एमालेका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति भएको छ ।
सल्यान, रोल्पा, प्यूठान र दाङमा एमालेका उम्मेदवारलाई प्रगतिशील लोकतान्त्रिकले समर्थन गर्ने भएको छ । आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने नीति लिएपनि अहिले आएर दुई दलबीच केही क्षेत्रमा तालमेल भएको हो ।










