म्यानमारमा आम निर्वाचन सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

माघ ११, २०८२ | काठमाडौं

गृह युद्धमा फसेको म्यानमारमा आम निर्वाचन सम्पन्न भएको छ । तीन चरणमा गरि निर्वाचन सम्पन्न भएको हो । सैन्य नेतृत्वको सरकारले आज अन्तिम चरणअन्तर्गतको मतदान गर्ने व्यवस्था मिलाएको थियो । 

झण्डै एक महिनासम्म चलेको निर्वाचन प्रक्रियाबाट नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । यद्यपि अब बन्ने संसद्मा सैन्य शासक र उनका सहयोगीको बहुमत देखिने सुनिश्चित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सेनाले निर्वाचन गराएपछि केही आलोचकहरुले भने निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको आरोेप लगाएका छन् । सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरेपछि सेनाले आफ्नो शक्तिलाई वैध बनाउने उद्देश्यले चुनाव गराएको आरोप लागेको छ ।

यसअघि भएको दुई चरणको निर्वाचनमा सेना समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टीले अधिकांश सिट जितिसकेको छ । त्यहाँको संसद्मा २५ प्रतिशत सिट संविधानअनुसार सेनाले पाउने व्यवस्था भएका कारण सेनाको बहुमत देखिएको समाचारमा जनाइएको छ । 

जारी द्वन्द्व र सुरक्षा चुनौतीका कारण देशका ३ सय ३० क्षेत्र मध्ये ६६ क्षेत्रमा भने निर्वाचन हुन नसकेको बताइएको छ । 


प्रतिक्रिया