मताधिकारको प्रयोग गर्न मानव अधिकार आयोगको आग्रह
फाल्गुन १९, २०८२ | काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अवधिमा देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगद्धारा जारी विज्ञप्तीमा निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न सम्पुर्ण मतदाताहरुलाई आग्रह समेत गरिएको छ । यस्तै, आयोगले राजनीतिक दल तथा अन्य कसैले पनि मौन अवधिमा कुनै पनि अवाञ्छित क्रियाकलापलाई रोक्न भनेको छ ।
आयोगले मौन अवधि सुरु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियालाई सघाउन राजनीतिक दललाई आग्रह समेत गरेको छ । आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष,धाँधलीरहित, विश्वसनीय र मानवअधिकारमैत्री हुने विश्वास व्यक्त गरिएको छ ।
त्यस्तै निर्वाचनको अवधिमा स्वास्थ्यसेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताहरुका लागि सवारीसाधन तथा हवाई उडान जस्ता अत्यावश्यक सेवाहरु सञ्चालन गर्न समेत सम्बन्धित पक्षलाई आयोगले आग्रह गरेको छ । यस्तै, निर्वाचनको दिनको अनुगमनका लागि आयोगले देशैभर अनुगमन टोली खटाएको जनाएको छ ।









