इरानको ड्रोन आक्रमणमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि
फाल्गुन १८, २०८२ | काठमाडौं
इरानले यूएईमा गरेको ड्रोन आक्रमणमा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो ।
दिवस मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । उनको मृत्युबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजानेलगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न तत्पर रहेको दूतावासको भनाइ छ ।
दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन तथा यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ । यसैबीच, मध्यपूर्वमा देखिएको तनावले श्रम बजारमा नकारात्मक असर पार्ने र त्यहाँ रहेका श्रमिकलाई अप्ठ्यारो पार्न सक्ने विश्लेषण भइरहेका छन् ।









