विशेष महाधिवेशनका कारण हार व्यहोरेको देउवा पक्षीय नेताको आरोप
फाल्गुन २७, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका नेताहरुले चुनावी नतिजा अप्रत्याशित भएपनि आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले चुनावको नतिजा अप्रत्याशित भएको तर चिन्तित हुनु नपर्ने बताउनुभएको हो ।
नेता सिटौलाले पार्टीको विशेष महाधिवेशनलाई उचित नठानेको र अदालतको निर्णय कुरिरहेको बताउनुभयो । अदालतको निर्णयपछि पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।
यसैबीच, नेपाली कांग्रेसका पूर्व सभापति शेरवहादुर देउवा पक्षका नेताहरुले विशेष महाधिवेशनकै कारण चुनावमा पार्टी पराजित भएको आरोप लगाएका छन् । नेता जितजंग बस्नेतले विशेष महाधिवेशनका कारण पार्टीभित्र एकता कायम नभएको बताउनुभयो ।
चुनावको केही साताअघि गरिएको कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसविरुद्ध देउवा पक्षका नेताहरुले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधिन छ ।









