ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने तयारी

रेडियो कान्तिपुर संवाददाता

चैत्र २६, २०८२ | काठमाडौं

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने तयारी गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । सरकारी वकिलको सहमतिमा खोजी भएको बेला उपस्थित हुनेगरी ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उहाँहरूलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । 

सर्वोच्चको आदेश अनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद हिजोसम्म मात्रै थियो । प्रहरीले स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखेको थियो भने लेखकलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी नम्बर–२ गणको हिरासतमा राखेको थियो ।


प्रतिक्रिया