संघीय संसदका दुवै सदनको बैठक बस्दै
चैत्र २५, २०८२ | काठमाडौं
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२ पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ ।
राष्ट्रियसभाको बैठक भने दिउँसो सवा १ बजे बस्ने छ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।











