सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्न नपाइने

रेडियो कान्तिपुर संवाददाता

वैशाख ५, २०८३ | काठमाडौं

सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई निर्देशन दिएको छ ।सामाजिक सञ्जालमार्फत प्रवाह हुने गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्न सक्ने काउन्सलिलको भनाइ छ । 

गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च हुने भएकाले चिकित्सकलाई त्यस्तो कार्य नगर्न काउन्सिलले अनुरोध गरेको हो । काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जरुरी सूचना जारी गर्दै टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षणबिना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् । 

‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न पनि काउन्सिलले आग्रह गरेको छ । काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ ।


प्रतिक्रिया