निर्वाचन आयोगको निर्देशनपछि पोखरा–लेखनाथमा पुन: मतगणनाको तयारी

जेष्ठ ७, २०७४ | पोखरा

पोखरा-लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तीक छापको आकार ठूलो भएको भेटिएपछि स्थगित मतगणना पुन: अघि बढाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

फर्जी मत भेटिएको भन्दै कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिले बिरोध गरेपछि हिजो साँझबाट सो स्थानमा मतगणना हुन सकेको छैन । मतगणनाका क्रममा सूर्य चिन्हमा त्यस्तो छाप भेटिएको हो । आज बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगसँग परामर्श गर्ने र आयोगको सुझावअनुसार अघि बढ्ने निर्णय गरेको थियो ।

आयोगले ठूलो स्वस्तिक छाप भए पनि सदर गर्दै मतगणना अघि बढाउन निर्देशन दिएपछि दलका प्रतिनिधिहरु मतगणना स्थलमा भेला हुने क्रम जारी रहेको छ । स्थानीय तहको निर्वाचनकालागि प्रयोगमा ल्याइएको मतपत्र र मतदान अधिकृतको हस्ताक्षर सही भए गणनालाई निरन्तरता दिन आयोगले भनेको हो । 

कांग्रेस कास्की सभापति कृष्ण केसीले एउटा मतदानस्थलमा दुईवटा स्वस्तिक छाप प्रयोग हुँदा त्यसको कानुनी मान्यताप्रति प्रश्नमात्रै उठाइएको बताउनुभयो ।

५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो ।

३३ वटा वडा रहेको महानगरमा १५ वडासम्मको मतगणना सकिएको छ भने १६ देखि १८ वडा सम्मको मतगणना भइरहेका समय विवादपछि रोकिएको हो । 

 


प्रतिक्रिया