दोस्रो चरण निर्वाचनको तयारी अन्तिम चरणमा, झण्डै ९१ लाख मतदाता

जेष्ठ २२, २०७४ | काठमाडौं

 

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । सरकारले जेठ ३१ गतेका लागि तय स्थानीय तह दोस्रो चरणको निर्वाचन मिति परिमार्जन गर्दै असार १४ गतेका लागि तोकेपछि आयोगले निर्वाचन तयारी तिब्र बनाएको थियो ।

प्रदेश नम्बर १, २, ५ र ७ अन्तरगत ४३ जिल्लाका ४ सय ६१ वटा स्थानीय तहमा असार १४ गते निर्वाचन हुँदैछ । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणमा हुने ४ सय ६१ वटै स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटिसकिएको जानकारी दिदै सबै निर्वाचन सामग्रीहरु जिल्लामा पठाइसकिएको र मतदाता शिक्षाका लागि प्रत्येक घरमा पुग्ने गरी स्वयंसेवक खटाइएको बताउनुभयो ।

शर्माले पहिलो चरणमा भन्दा दोस्रो चरणमा मतदाता शिक्षामा सुधार गरी स्वयंसेवकलाई घर घर पुगेको प्रमाण ल्याउन निर्देश गरिएको उल्लेख गर्नुभयो । गत बैशाख ३१ गते भएको २ सय ८३ वटा स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा विवादपछि नजिता आउन सकेको छैन । 

झण्डै ९१ लाख मतदाता 

यसैबीच, दोास्रो चरणको निर्वाचन अन्तरगत असार १४ गते निर्वाचन हुने २ महानगर, १० उपमहानगर, १ सय ५६ नगरपालिका र २ सय ९३ गाउँपालिकामा झण्डै ९१ लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये ९० लाख ९७ हजार ५ सय ५७ जनाले दोस्रो चरणको निर्वाचनमा भाग लिन पाउने छन् । बाँकी मतदाता पहिलो चरणमा परेका थिए । सबैभन्दा बढी प्रदेश नम्बर एकमा २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् ।

त्यसपछि प्रदेश नम्बर २ मा २६ लाख ६४ हजार ७ सय ९२, प्रदेश नम्बर ५ मा २४ लाख ५४ हजार ४ सय ८८ र प्रदेश नम्बर ७ मा १३ लाख ३ हजार ७ सय १४ मतदाता छन् । ९० लाख बढी मतदाताका लागि दोस्रो चरणको निर्वाचनमा ६ हजार ७ सय १८ स्थलमा ११ हजार ९ सय ३१ मतदान केन्द्र तोकिएको छ । पहिलो चरणमा ६ हजार ६ सय ४२ मतदान केन्द्र थिए ।  

तराईका २० मध्ये चितवनबाहेक सम्पूर्ण जिल्लामा असार १४ गते निर्वाचन हुँदैछ । दोस्रो चरणको समेत निर्वाचन सम्पन्न भएपछि सम्पूर्ण ७ सय ४४ स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित ३४ हजार ९ सय ८ र स्थानीयसभाले आफ्नो कार्यपालिका सदस्यमा निर्वाचित गर्ने दलित वा अल्पसंख्यक समूदायका १ हजार ७ सय ५३ जना सहित स्थानीय सरकारमा कुल ३६ हजार ६ सय ६१ जनप्रतिनिधी चुनिनेछन् ।

पहिलो चरणमा प्रत्यक्ष निर्वाचनबाट चुनिने १३ हजार ५ सय ५६ मध्ये १३ हजार २ सय ४२ जनाले पदबहाल गरिसकेका छन् । सरकारले पछिल्लो समय सीमांकन हेरफेर नगरी दुई उपमहानगर बिराटनगर र वीरगञ्जलाई महानगर बनाएपछि दोस्रो चरणको निर्वाचनमा समेत महानगरको नेतृत्व हत्याउने होडवाजी दलहरुबीच सुरु भएको छ ।

बिराटनगर र वीरगञ्ज महानगर भएपछि उपमहानगरको संख्या भने ११ मा झरेको छ । जसमध्ये हेटौडा उपमहानगरपालिकामा पहिलो चरणमै निर्वाचन भइसकेको छ भने बाँकीमा असार १४ मा निर्वाचन हुनेछ । प्रदेश नम्बर १ मा इटहरी र धरान, प्रदेश नम्बर २ मा जनकपुर, कलैया र जीतपुर सिमरा, प्रदेश नम्बर ५ मा बुटबल, घोराही, तुल्सिपुर र नेपालगन्ज, प्रदेश नम्बर ७ मा धनगढी उपमहानगरपालिका छन् ।

यस्तै प्रदेश नम्बर १ मा ४६, २ मा ४५, ५ मा ३२ र प्रदेश नम्बर ७ मा ३३ नगरपालिका छन् । त्यस्तै, प्रदेश नम्बर १ मा ८८, २ मा ७८, ५ मा ७३ र ७ नम्बर प्रदेशमा ५४ वटा गाउँपालिका छन् । दोस्रो चरणमा निर्वाचन हुने ४ सय ६१ वटा स्थानीय तहमा ४ हजार ८६ वडासंख्या रहेको आयोगले जनाएको छ ।

मुलुकभर रहेका स्थानीय तहको कुल ६ हजार ६ सय ८४ वडामध्ये २ हजार ५ स ९८ मा बैशाख ३१ मै निर्वाचन भइसकेको छ । आयोगका प्रवक्ता शर्माले मतदान केन्द्रमा मात्रै दोस्रो चरणमा ९५ हजार कर्मचारी परिचालित हुने बताउनुभयो । 


प्रतिक्रिया