छोराछोरीलाई शाह वंशको इतिहास देखाउन पूर्व युवराज्ञी हिमानी गोरखामा

जेष्ठ २३, २०७४ | गोरखा

पूर्व युवराज्ञी हिमानी शाह, छोरा ह्दयेन्द्र र छोरीहरुले आज पूर्व राजपरिवारको कुलदेवता मानिने गोरखाकाली मन्दिरको दर्शन गर्नुभएको छ ।

८ वर्ष पछि पूर्व युवराज्ञी हिमानी छोराछोरी र सहयोगीहरुसहित कुलदेवताको दर्शन गर्न गोरखा पुग्नु भएको हो । ‘छोराको ब्रतबन्ध पछि परम्परा अनुसार कुलदेवताको दर्शन गर्न आएका हौं,’ उहाँले भन्नुभयो, ‘अन्य देवीदेवताको पनि पुजाआजा गर्न भ्रमणमा निस्केका हौं ।’ गोरखा दरबार पुगेर उहाँले करिब एकघण्टा पुजा गर्नुभएको थियो । 

गोरखा दरबारका कर्मचारीहरुले उहाँहरुलाई बाजागाजासहित स्वागत गरेका थिए । छोरा ह्दयेन्द्र, छोरीहरु पूर्णीमा र कृर्तिका पनि सँगै थिए । यसअघि २०६६ सालमा हिमालीले गोरखकाली मन्दिरको दर्शन गर्नुभएको थियो भने पूर्व राजा ज्ञानेन्द्र शाहले २०६२ को दसैंमा कुलदेवताको पुजा गर्नुभएको थियो । 

गणतन्त्र घोषणा हुनु अघि राजपरिवारका सदस्यले हरेक वर्ष कुलदेवताको पुजा गर्न दरबार आउने गरेको प्रदिपनाथ योगीले बताउनुभयो । पुजापछि उहाँहरुले गोरखा संग्राहलयको भ्रमण गर्नुभयो । आज बन्द हुने संग्रालय उहाँको स्वागतमा खुल्ला गरिएको थियो । राजतन्त्र इतिहासमा तल्लो दरबार भनेर परिचित संग्रहालय गणतन्त्र घोषणा पछि सर्वसाधरणका लागि पनि खुल्ला गरिएको हो ।

त्यहाँ पृथ्वीनारायण शाह लगायत राजाले एकीकरणका बेला प्रयोग गरेका सामग्री र तस्बिरहरु सुरक्षित राखिएको छ । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेपछि हिमानी सहितको पूर्वराजपरिवार सदस्य गोरखा नगरपालिकाले स्वागत कार्यक्रममा सहभागी भएका थिए । संघीय गणतन्त्रका नवनिर्वाचित जनप्रतिनिधिहरुले उहाँहरुलाई स्वागत गरेका हुन् ।  


प्रतिक्रिया