न्यायधीश जनताको सेवक : प्रधानन्यायधीश पराजुली
कार्तिक ७, २०७४ | पाँचथर
प्रधानन्यायधीश गोपाल पराजुलीले न्यायालयमा बस्ने न्यायधीश जनताको सेवक भएकाले जनभावना अनुरुप न्याय सम्पादन गर्न निर्देशन दिनुभएको छ । संविधानले दिएको अधिकारलाई मात्र नभइ समय, परिस्थिति अनुसार कार्यदक्षता देखाइ समाजको भावना अनुकुल कार्य सम्पादन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले न्यायलयमा बस्ने न्यायधीश जागिरे मात्रै नभइ जनताको सेवक भएकाले जनभावना अनुरुप न्याय सम्पादन गर्न निर्देशन दिनुभयो ।
सदरमुकाम फिदिमस्थित पाँचथर जिल्ला अदालतको भवन शिलन्यास गर्न पुगेका प्रधानन्यायधीस गोपाल पराजुलीले न्याय प्रणाली सबैका लागि समान हुनुपर्ने बताउनुभयो । सर्वसाधारणको भावना अनुकुल निष्पक्ष, स्वतन्त्र, प्रभावकारी न्याय सम्पादन गरेर न्यायालयको छवी उच्च राख्नुपर्ने भन्दै प्रधानन्यायधीश पराजुलीले न्यायलयको कार्यसम्पादन र व्यावस्थापनमा सुधारोन्मूख रहेको बताउनुभयो ।
न्यायलयलाई सूचना प्रविधियुक्त बनाएर गतिविधिको जानकारी दिने, छिटो, छरितो न्याय सम्पादन गरेर सुधारोन्मूख भएपनि सर्बोच्च अदालतमा फाइलका चाङ लागेको उहाँको भनाई थियो । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा फैसला हुन बाँकी मुद्धाको किनारा लगाउन न्यायधीशले अतिरिक्त समय काम गर्नुपर्ने र त्यसवापत अतिरिक्त पारिश्रमिक पाउने गरी नियमावली संशोधन भएको उहाँले जानकारी दिनुभयो ।
न्यायलयमा न्यायधीश, कर्मचारीको ढिलासुस्ती, परानो पद्धतीका कारण सर्वोच्च अदालतमा समेत पूराना मुद्धाहरु चाङ लागेकाले वर्षौंदेखि फैसला हुन नसकेका मुद्धाहरु अतिरिक्त समय लिएर भएपनि फैसला गर्ने व्यवस्था गरिएको उहाँको भनाई थियो ।