गोरखाको उत्तरी भेगमा हिमपात

कार्तिक १४, २०७४ | गोरखा

-  जिल्लाको हिमाली क्षेत्रमा सोमबार साँझ देखि हिमपात भएको छ । हिउँद लागेपछि पहिलो पटक हिउँ पर्न सुरु भएको स्थानीयबासीले बताएका छन् । तीन हजार मिटर उचाई भन्दा माथिका अधिकांश स्थानमा हिउँ परेको उनीहरुले बताए । हिमाली क्षेत्रमा हिमपात भएपछि चुनावी गतिविधि समेत प्रभावित भएको छ ।

हिमालपारिका सामागाउँ, साम्दो, ल्हो, प्रोक, छेकम्पारका बस्ती सम्मै हिउँ चमेको हो । ‘हिउँले बस्ती पुरै ढाकेको छ’, चुमनुव्री गाउँपालिकाका वडा अध्यक्ष बेदप्रकाश ढकालले भन्नुभयो, ‘चिसो बढेका कारण चुनावी कार्यक्रम पनि प्रभावित हुन सक्छ ।’ हिउँ जमि राखे चुनाव गराउन समस्या हुने उहाँको भनाई छ । चुनावका कारण जाडो छल्न अन्यत्र नगएर गाउँमै बसेका स्थानिय, पशुचौपाय चिसोका कारण प्रभावित भएका छन् । आधा फिट सम्म हिउँ जमेको छ ।

हिउँ परेपछि बाली नाली सप्रने भन्दै स्थानीय खुसि पनि छन् । विगतका वर्षहरुमा भन्दा चाडो हिउँ पर्न थालेको पनि उनीहरुको भनाई छ । हिउँ परेका कारण स्थानिय घरबाट बाहिर ननिस्केको चुमनुव्री गाउँपालिकाका वडा अध्यक्ष ढकालले बताउनुभयो । जिल्लाको तल्लो पहाडी क्षेत्रमा पनि घाम लागेको छैन भने चिसो बढेको छ ।

 


प्रतिक्रिया