कांग्रेस उम्मेदवारद्वारा हेलिकप्टर चार्टर गरी चुनाव प्रचार

कार्तिक २०, २०७४ | गोरखा

- नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार राजेन्द्र बजगाईले निर्वाचन आचार संहिता उल्लंघन गर्दै हेलिकप्टर चार्टर गरेर चुनाव प्रचारप्रसार गर्न थालेका छन् । आज बिहानै उनी हेलिकप्टर लिएर गोरखाको उत्तरी भेगस्थित चुमनुव्री गाउँपालिकाको विभिन्न क्षेत्रमा पुगेको स्थानीयबासीले बताएका छन् । उनले चुनाव प्रचार गरेको स्थलको तस्विरमा दुई वटा हेलिकप्टर देखिन्छ ।

कांग्रेस सभापति तथा प्रदेशका समानुपातिक तर्फमा उम्मेदवार हरिबहादुर घले पनि उनी सँगै गएका छन् । जिल्ला सुरक्षा समितिले बजगाईको कार्यक्रम बारे थाहा नभएको जनाएको छ । सामागाउँबाट ल्हो तर्फ उम्मेदवार हेलिकप्टरमा उडेको स्थानीय एक प्रहरीले रेडियो कान्तिपुरलाई बताए । ‘आज उम्मेदवार सम्र्पक बिहिन हुनुहुन्छ, सुरक्षा समितिमा जानकारी छैन’, एक सुरक्षा प्रमुखले नाम उल्लेख नगर्ने शर्तमा भने । चुनावी कार्यक्रम बारे सुरक्षा समितिलाई पूर्व जानकारी दिनुपर्ने भएपनि उनले जानकारी बिना हेलिकप्टर चार्टर गरेर त्यसतर्फ सुटुक्क गएको स्रोतको दावी छ । 

निर्वाचन अयोगका सहसचिव विकास तिमिल्सिनाले बजगाईले हेलिकप्टर चार्टर बारे अनुमति लिएको बारे जानकारी नभएको बताउनुभयो । ‘अनुमति लिएको मेरो जानकारीमा छैन’, उहाँले भन्नुभयो, प्रवक्ता नवराज ढकालले पनि अनविज्ञता प्रकट गर्नुभयो । बजगाईले हेलिकप्टर चार्टर गरेर प्रचारप्रसार थालेपछि माओवादी र एमाले उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति नलिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताउनुभयो । ‘निर्वाचन आयोगमा मौखिक रुपमा सोध्दा अनुमति नलिई हेलिकप्टर उडाएको भन्ने पाईयो’, उहाँले भन्नुभयो, ‘उजुरी परेपछि कारवाही गर्न लिखित रुपमा आयोग सँग सोध्ने तयारी गरेका छौं ।’

क्षेत्र नम्बर १ दुर्गम उत्तरी क्षेत्रको तिब्बत सँग जोडिएको भुभाग हो । उक्त प्रदेशमा वाम गठबन्धनबाट एमाले नेता रामशरण बस्नेत बजगाईका प्रतिस्पर्धी छन भने क्षेत्रन नम्बर १ मा कांग्रेस नेता चिनकाजी श्रेष्ठ र माओवादी नेता हरिराज अधिकारीबीच प्रतिस्पर्धा छ ।

 


प्रतिक्रिया