हेलिकप्टर मार्फत मतदान सामाग्री ढुवानी

मंसिर ६, २०७४ | गोरखा

-  गोरखाको दुर्गम उत्तरी क्षेत्रको चुमनुव्री र धार्चे गाउँपालिकामा मतपत्र, मतपेटिका लगायत मतदान केन्द्रमा आवश्यक पर्ने सामग्री हेलिकप्टरबाट ढुवानी गरिएको छ । सडक सञ्जाल नपुगेका २७ मतदान केन्द्रमा हेलिकप्टरले मतदान साम्रागी ढुवानी गरेको हो ।

नेपाली सेनाको हेलिकप्टरले ती दुई गाउँपालिकाको विभिन्न स्थानमा सदरमुकामबाट मतदान अधिकृत सहित निर्वाचन सामाग्री लगेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताउनुभयो ।

मतदान अधिकृत बाहेक सुरक्षाकर्मी र अन्य कर्मचरी मंसिर २ गते नै पैदल यात्रा गरेर त्यसतर्फ गई सकेका छन् । सदरमुकामबाट पैदल यात्रा गरेर ३ देखि ७ दिन लाग्ने मतदान केन्द्रहरुमा हेलिकप्टरबाट मतदान सामाग्री लगिएको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मतदान सकिएपछि मतपेटिकाहरु समेत हेलिकप्टरले नै ढुवानी गर्ने बताउनुभयो । चुमनुव्रीको सामागाउँ, नामरुङ, सिर्दिबास छेकम्पार, धार्चेको माछिखोला, खोर्लाबेशी काशिगाउँमा हेलिकप्टरबाट सामाग्री लगिएको हो । २७ केन्द्रका सामाग्री हेलिकप्टरबाट ढुवानी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मंसिर १० गते संघ र प्रदेश सभाको निर्वाचन सकिएपछि मतपेटिका संकलन गरेर सदरमुकाम ल्याउने तयारी समेत गरी सकिएको छ । मतदान अधिकृत र सुरक्षाकर्मीले सदरमुकाम ल्याउन मतपेटिका मंसिर २१ गते सम्म भण्डार गरेर राखिने ठाउँ छनौट गरिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताउनुभयो । क्षेत्र नम्बर १ को प्रदेश सभा सहितको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको महिला तथा बालबालिका कार्यालय र क्षेत्र नम्बर २ को मतपेटिका जिल्ला समन्वय समितिमा भण्डार गरेर राखिने छ ।

अन्य जिल्लामा दोस्रो चरणमा हुने निर्वाचन सकिए लगत्तै भण्डार गरेर राखिएको मतपेटिका खोलेर गणना सुरु गरिने उहाँले बताउनुभयो । ‘सुरक्षाकर्मीले २४ सै घण्टा सुरक्षा दिएर मतपेटिका राख्ने प्रबन्ध मिलाई सकेका छौं’, उहाँले भन्नुभयो, ‘भण्डार गरिएकै ठाउँमा गणना हुन्छ ।’

२ सय ८२ वटै मतदान केन्द्रमा बिहीबार सम्म मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सहित मतदान सामग्री पुग्ने पौडेलले जानकारी दिनुभयो । जिल्लाको ३ वटा मतदान केन्द्रलाई महिलामैत्री मतदान केन्द्र बनाईएको छ ।

गोरखा नगरपालिकाको ओल्ड क्यापिटल बोर्डिङ, सरस्वती मावि आहाले र बालमन्दिर मावि छहेरमा मतदान अधिकृत, कर्मचारी देखि सुरक्षाकर्मी सम्म महिला रहने छन् । क्षेत्र नम्बर १ मा ९८ हजार ६ सय २२ र क्षेत्र नम्बर २ मा ९०८२६ जना मतदान सहभागी हुदैंछन् । निर्वाचनका लागि जिल्लाभर ४ हजार भन्दा बढी सुरक्षाकर्मी र करीब दुई हजार कर्मचारी खटिएका छन् ।

 


प्रतिक्रिया