पाँचथरमा शान्तिपूर्ण मतदान, ६५ प्रतिशत मत खस्यो

मंसिर १०, २०७४ | पाँचथर

-  पाँचथरको एक सय ६५ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको छ । पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको एक नगरपालिका, ७ वटा गाउँपालिकाको ६० वटा वडामा एक सय एक वटा मतदानस्थल र एक सय ६५ वटा मतदान केन्द्रमा एक लाख २५ हजार दुई सय १९ मतदाता थिए ।

प्रतिनिधि सभामा एक लाख २५ हजार दुई सय १९ जना र प्रदेश सभामा क्षेत्र नं १ मा ६६ हजार २ सय ३३ र क्षेत्र नं २ मा ५८ हजार ९ सय ९६ जना मतदातामध्ये करीब ८१ हजार ५ सयको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताउनुभयो । 

मतदान केन्द्रबाट ल्याइएका समानुपातिक, प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनको मतपेटिका सदरमुकाम फिदिमस्थित खेलकुद कभर्ड हल र  कर्मचारी मिलन केन्द्रको भवनमा छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत केसीले बताउनुभयो । हरेक मतदान केन्द्रको तीन/तीन थान गरी चार सय ९५ थान मतपेटिका भण्डारण गरी कडा सुरक्षामा राख्ने व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा एक निर्बाचन क्षेत्रमा ८ दलका ८ उम्मेदवार र प्रदेश सभाको दुई वटा निर्वाचन क्षेत्रमा ८ दलका १६ उम्मेदवार प्रतिस्पर्धी छन् । जिल्लाको सबै मतदान केन्द्रमा दिनभर शान्तिपूर्ण मतदान भएको प्रमूख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले बताउनुभयो । मतदान सकिएपछि सदरमुकाम आसपासको फिदिम मावि, सुखबोध मावि जोरसाल, ओदिन आधारभूत विद्यालय, सरस्वती मावि सुम्निमा चोक मतदान केन्द्रको मतपेटिका गोदाममा ल्याइएको छ ।

मेची राजमार्गमा पर्ने फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिका र याङवरक गाउँपालिकाबाट आज रातीसम्म मतपेटिका ल्याइसक्ने निर्वाचन कार्यालयले जनाएको छ । सदरमुकाम देखि टाढाको तुम्बेवा गाउँपालिका, फालेलुङ गाउँपालिका, कुम्मायक गाउँपालिका, मिक्लाजोङ गाउँपालिकाको लिम्बा, दुरदिम्बा, याङवरक गाउँपालिकाको च्याङथापू, फलैचा, ओयाम, फालेलुङ गाउँपालिकाको एक तीन, मेमेङ, प्राङबुङ, सिदिन, तुम्वेवा गाउँपालिकाको आङना, मौवा, आरुवोटे, माङजाबुङबाट मतपेटिका ल्याउन समय लाग्ने प्रमूख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले जानकारी दिनुभयो । 

पाँचथरमा निर्बाचन सुरक्षाका लागि ८ सय ६२ जना म्यादी प्रहरी, ११ सय ८ जना नेपाल प्रहरी, ८ सय ६२ जना सशस्त्र प्रहरी गरी २८ सय ३२ जना सुरक्षाकर्मी र ११ सय थान हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताउनुभयो । 

हरेक मतदान केन्द्रमा ११ जना कर्मचारी र सहायक कर्मचारी गरी १८ सय १५ जना निजामति, शिक्षक कर्मचारी खटिएका थिए ।


प्रतिक्रिया