चितवनको ५२ वटा मतदान स्थल अति संवेदनशील

मंसिर १८, २०७४ | चितवन

-  आगामी बिहीबार दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानमा खटिने कर्मचारी निर्वाचन सामाग्री लिएर खटाईएको मतदान मेन्द्र तर्फ लागेका छन् । हिजोबाट मतदानका लागि कर्मचारी र सुरक्षाकर्मी परिचालन सुरु गरिएको हो ।

निर्वाचनको सबै तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनु भयो । मतदानका लागि खटिने कर्मचारी चलानी भई सकेका र अधिकांश ठाउँमा कर्मचारी पुगी सकेको उहाँले बताउनुभयो ।  

इच्छाकामना, कालिका र राप्ती नगरपालिकाका केही बस्ती भौगोलिक रुपमा विकट भएकाले त्यहाँ भोलि सम्म कर्मचारी पुग्ने छन् । संवेदनशील क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाईएको उहाँले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार जिल्लाभर ४ सय ८ मतदान केन्द्र रहेका छन् । मतदानस्थलको संख्या १ सय ६१ छ । 

४ सय ८ मतदान अधिकृत र त्यतिनै संख्यामा सहायक मतदान अधिकृत परिचालन भएका छन् । सहायक कर्मचारी १२ सय १९ छन् भने ८ सय १६ जना कार्यालय सहयोगी रहेका छन् । १ हजार ६ सय २७ जना स्वयमसेवक परिचालन हुने छन् । जिल्लामा ३ वटा निर्वाचन क्षेत्र छन् । जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले सुरक्षा ब्यवस्था कडा पारिएको बताउनुभयो । उहाँले भोलिबाट चुनावलाई मध्यनजर गर्दै ८ बजे पछि होटल तथा रेष्टुरेण्ट बन्द गर्नु पर्ने बताउनुभयो । जिल्लाका ५२ वटा मतदानस्थललाइ अति संवेदनशील क्षेत्र भित्र राखिएको छ ।  

  

 

 


प्रतिक्रिया