पाँचथरमा मतगणना शुरु, वाम गठबन्धनको अग्रता

मंसिर २१, २०७४ | पाँचथर

-  मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना शुरु गरिएको छ । पहिलो मत परिणामअनुसार पाँचथर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका वसन्तकुमार नेम्बाङले अग्रता शुरु गरेका छन् ।

पहिलो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बसन्तकुमार नेम्बाङले एक हजार ४ सय २९ मत प्राप्त गरी अग्रता शुरु गरेका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेल ९ सय ९८ मत प्राप्त गरेका छन् । सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य प्रेमराज लावतीले एक सय ५ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

मिक्लाजोङ, फालेलुङ र याङवरक गाउँपालिकाको दुई दुई वटा गरी ६ वटा मतपेटिका खोलेर दुई वटा समुहले ३ हजार एक सय ३१ मतपत्र मध्ये दुई सय ३८ मत बदर भएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका सागर केरुङ, जनमुक्तिका भगिरथ लिम्बू, नेकपा मालेका दिनानाथ घिमिरे, नयाँ शक्तिका दिलबहादुर लावती, देशभक्त गणतान्त्रिक मोर्चा, राप्रपा राष्ट्रवादी, जनसमाजवादी लगायत दलका उम्मेदवार प्रतिस्पर्धी छन् ।

पाँचथरमा मतगणनास्थलमा उच्च सुरक्षा सतर्ककताका साथ मतगणना थालिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फिदिमस्थित जिल्ला समन्वय समिति कार्यालय छेवैमा रहेको व्याटमिन्टन कभर्डहल भित्र साँझ ५ बजे मतगणना शुरु गरिएको हो । मतगणनाको लागि दलका उम्मेदवार, दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार, सुरक्षा अधिकारी र कर्मचारी मतगणनास्थलमा पुगेपछि मतपेटिका भण्डारण कक्षमा दुई गठबन्धनले लगाएको ताला खोलेपछि मतपेटिका खोलिएको हो ।

सर्वदलीय सहमति पछि प्रतिनिधि सभा सदस्य निर्वाचनको ६ वटा मतपेटिका खोलेर गणना शुरु गरिएको हो । मतगणना रातदिन गरेर शनिबार बिहानसम्म प्रतिनिधि सभा सदस्यको अन्तिम मतपरिणाम आउने र त्यसपछि मात्र प्रदेश सभा सदस्यको मतगणना गर्ने तयारी भएको मुख्य निर्बाचन अधिकृत मनोजकुमार केसीले बताउनुभयो ।

उहाँकाअनुसार प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं १ र २ को मतपरिणाम आइतबार सम्म आइसक्ने छ । त्यसपछि समानुपातिक प्रणालीको मतगणना गरिने छ ।

मतगणनास्थल सुरक्षाको लागि चारैतिर फलामे तारले घेराबार लगाइएको छ । बाहिरी घेरामा सुरक्षा पोष्ट र चेकजााच गरेर मात्र उम्मेदवार, दलका प्रतिनिधि, सञ्चारकर्मी, पर्यवेक्षक, कर्मचारी भित्र प्रवेश गरेपछि अर्को घेरावारामा सुरक्षाजाँच गर्ने व्यावस्था छ । मतगणना स्थलसम्म प्रवेशको लागि थप सुरक्षा जाँच गरेर मात्र प्रवेश गर्ने व्यवस्था छ ।

दलका प्रतिनिधि र उम्मेदवार समेत मतदानस्थलमा तारघेरा बाहिर मात्रै बसेर हेर्ने व्यावस्था गरिएको छ । मतगणनास्थलमा गणक, सुरक्षा अधिकारी र मूख्य निर्बाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारी मात्र हुने छन् । पत्रकारहरुलाई मतगणना परिसरसम्म पुग्नका लागि प्रवेस अनुमति पत्र दिइएको छ, भने मतगणनास्थलसम्म पुग्न पालैपालो प्रवेश गर्न सञ्चारकर्मीलाई ३ वटा पास दिइएको छ । सूचना सम्प्रेषणको लागि समाचार संकलन, फोटो खिच्ने र भिजुअल लिनका लागि आपसी समन्वयमा सहज बनाउने आश्वासन समेत दिइएको छ । 


प्रतिक्रिया