मथुरामा कडा सुरक्षाबीच मतदान

मंसिर २३, २०७४ | अर्घाखाँची

-  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ५ स्थित वाङलाको मथुरा नन्दराम आधारभूत विद्यालयका मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । बिहीबार भएको मतदानमा केन्द्र ‘ख’ का मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नै नगरी मतपत्र दिएपछि कर्मचारी र मतदाताबीच केहीबेर भनाभन भएको थियो ।

त्यसपछि आक्रोशित मतदाताले मतपेटिका तोडफोड र मतपत्र च्यातेपछि मतदान स्थगित भएको थियो । आज पुन: मतदान भईरहेको छ । बिहान ७ बजेदेखि शुरु मतदानमा चार सय मत खसिसकेको छ । उक्त मतदान स्थलमा दुई केन्द्र छन । २ हजार ४४ मतदाता रहेका छन् । मतदान स्थल जिल्लाको प्रदेश ‘क’ मा पर्छ । प्रतिनिधि सभा एक र प्रदेशका दुई निर्वाचन क्षेत्र छन् । 

मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्रका कारण मतदान स्थगित भएको जिल्लामा पहिलो पटक हो । मतदानस्थलमा बेग्लै रोचक छ । बिहीबार भएको मतदानमा सबै उम्मेदवार र सुरक्षा निकायका प्रमुख विभिन्न केन्द्रमा आ–आफनो ढंगले हिंडेका थिए । तर, प्रतिनिधि सभामा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस उम्मेदवार डा. रामबहादुर बिसी, प्रदेश ‘क’ बाट एमाले उम्मेदवार चेतनारायण आचार्य र कांग्रेसबाट विष्णुप्रसाद खनाल, समानुपातिक उम्मेदवार निर्मला क्षेत्री सहित नेताहरु एकै ठाउँ उपस्थित भएका छन । रायमाझी र बिसी दोस्रो संविधानसभामा पनि प्रतिष्प्रधी थिए । त्यतिबेला रायमाझीले जितेका थिए । 

प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, डिएस्पी एकनारायण कोइराला सहित सुरक्षा निकायका प्रमुख पनि उपस्थिति छन् । उक्त केन्द्रमा भोट हाल्न आउने मतदानको बस्तीमा सुरक्षा व्यवस्था कडा पारिएको कोइरालाले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ र म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको छ । विहीबार मतदान नगरेका पनि रातारात भोट हाल्न आएका छन् ।  

 


प्रतिक्रिया