नारायणगढ मुग्लिन सडकखण्ड रातीको समय फेरि बन्द

पुस १२, २०७४ | चितवन

 -  नारायणगढ मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । आगामी १८ गते राती १० देखि बिहान ४ बजेसम्म सवारी आवागमनलाई बन्द गरेर रातभर पहाडको भित्ता काट्ने काम गर्ने नारायणगढ मुग्लिन सडकखण्ड निर्माण आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

भरतपुरमा आज बसेको प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, ट्राफिक प्रहरी सहितको बैठकले १५ दिन रातभर काम गरेर परिक्षण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयो । दिनको समयमा निश्चित स्थानहरुमा एक तर्फी सवारी सञ्चालन गरेर पिच गर्ने आयोजनाका ईन्जिनियर खनालले बताउनुभयो ।

आँपटारी देखि मुग्लिन सम्मको ३३ दशमलभ २ किलोमिटर सडक निर्माण कार्यका लागि गत असारमा तेश्रो पटक म्याद थप गरिएको थियो । आगामि सन् २०१८ को फेब्रुअरीसम्म निर्माण कार्य सक्नुपर्ने म्याद भएपनि आयोजनाले भने आगामि चैतसम्ममा काम सम्पन्न गर्ने जनाएको छ । 


प्रतिक्रिया