नारायण–मुग्लिङ सडकखण्डमा आज रातीदेखि यातायात सञ्चालनमा प्रतिबन्ध

पुस १८, २०७४ | चितवन

 -  निर्माणाधिन नारायणगढ–मुग्लिङ सडकखण्डमा आज रातिदेखि यातायात सञ्चालनमा प्रतिबन्ध लगाईएको छ । सडक निर्माणको कामलाई तीव्रता दिन राती १० देखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिने नारायणगढ–मुग्लिङ सडकखण्ड आयोजनाले जनाएको छ । थप ८ सय मिटर पहाड काट्न बाँकी रहेकाले सवारी सञ्चालनमा रोक लगाइने आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

काठमाडौबाट छुट्ने बसलाई राती १० बजेभित्र मुग्लिन बजार पार गरिसक्न र पूर्व तथा पश्चिमबाट काठमाडौ, पोखरा आउने बसलाई बिहान ३ बजे अघि रामनगर पार गरिसक्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । यस्तै काठमाडौबाट नारायणगढतर्फ जाने मालवाहक ट्रकलाई राती ९ बजेभित्र लेवाटार पार गर्ने गरी सञ्चालन गर्न आग्रह गरिएको छ । मुग्लिनतर्फ जाने ट्रकलाई राती ९ बजेपछि रामनगरको भतेरी जंगल इलाका पार गर्न पनि ट्राफिक प्रहरीले भनेको छ ।

प्रहरीले रामनगर–भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिन बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्न आग्रह गरेको छ । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि तीव्रता दिन सवारी रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यलयका प्रमुख नारायण प्रसाद भट्टले जानकारी दिनुभयो ।

१६ किलोमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङ डाँडामा ३ सय मिटर पहाड काट्न बाँकी छ । अरु स्थानमा भने पिच निर्माणलाई तीव्रता दिईएको आयोजनाले जनाएको छ । सडक आयोजनाका अनुसार नारायणगढ–मुग्लिन सडक निर्माणको काम हालसम्म ६८ प्रतिशत मात्रै सकिएको छ ।  

 


प्रतिक्रिया