‘मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश : उपराष्ट्रपति

पुस २७, २०७४ | चितवन

 -  उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनसंगै लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ हुन लागेको बताउनु भएको छ । आज चितनको टिकौली चौरमा सुरु नवौं रत्ननगर महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देश आर्थिक समृद्धिको नयां युगमा प्रवेश गरेको बताउनु भएको हो ।  

‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भर्खरै सम्पन्न भएको छ, राष्ट्रिय सभाको निर्वाचन घोषणा भई सकेको छ,’ उहाँले भन्नुभयो, ‘विभिन्न कालखण्डका क्रान्ति र सघर्षका उपलब्धीहरुलाई संस्थागत गरेको नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक श्रृंखला प्रतिनिधि र प्रदेशसभा निर्वाचनसंगै लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य भएको छ ।’ उहाँले अबको युग आर्थिक समृद्धिको युग भएको दावी गर्नुभयो । 

लिखित मन्तब्य दिदैं उपराष्ट्रपति पुनले अब नेपाली आर्थिक समृद्धिको युगका नेपाली हुने बताउनुभयो । ‘लगानी मैत्री वातावरण र स्थिरता विना समृद्धि संभव छैन, नयाँ जनादेश अनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकार बनी सकेका छन्, राजनीतिक स्थिरतासंगै नेपाल पूर्ण लगानी मैत्री बन्ने छ । हामी गौरवका साथ भन्न सक्छौ नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तब्य हो, लगानीका लागि नेपाल भर्जिन ल्याण्ड हो ।’

देशको समृद्धिका लागि सरकार र निजी क्षेत्रको साझेदारी आगामी दिनमा अझै फराकिलो भएर जाने अपेक्षा लिएको उहाँले बताउनुभयो । सरकारले विशेष आर्थिक क्षेत्र सेज आयोजना सञ्चालनका लागि सम्भाब्यता अध्ययन गरिरहेको सन्दर्भमा चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाब्यता अध्ययनका लागि सरकारको ध्यानाकर्षण गराउन चाहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया