द्रव्यशाहको सालिक अनावरण

माघ ६, २०७४ | गोरखा

 -  वि.सं. १६१६ मा गोरखा राज्यको स्थापना गर्ने द्रव्य शाह राजाको सालिक गोरखा नगरपालिका–५ पस्लाङ चौतारामा शनिबार अनावरण गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले आधा कदकको सालिक अनावरण गरेका हुन् । एक गाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत करीब ४ लाख लागतमा गोरखा उद्योग वाणिज्य संघले सालिक स्थापना गरेको हो ।

उक्त कार्यक्रम अन्र्तगत पस्लाङमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे र पर्यटन पर्वद्धन गर्ने उद्देश्यले सालिक निर्माण गरिएको संघका अध्यक्ष श्रवणकुमार जोशीले बताउनुभयो । द्रव्यशाह गोरखाका पहिलो शाह वंशीय राजा भएको इतिहास छ । पस्लाङ चौतारामा उनले राज्यभिषेक गरेको बताईन्छ । इतिहास विद् दिनेशराज पन्तले भन्नुभयो, ‘लम्जुङका राजकुमार द्रव्यशाहले लिगकोटमा दौडे जितेर राजा भएपछि सोही पस्लाङ चौतारा राज्यभिषेक गरेर गोरखा राज्यका राजा भएका हुन ।’ १६१६ भदौ २५ गते स्थानीय नारायणदास अज्र्यालले उनलाई राज्यभिषेक गराएर गोरखा राज्यको राजा बनाएको इतिहास उल्लेख छ । 

द्रव्यशाह लम्जुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा थिए । ‘नियमत राजा हुन पाउने भएपछि उनी राजा हुने इच्छाले लिगलिगकोटमा दौडन आए’, पन्तले भन्नुभयो, ‘गोरखा राज्य विस्तार गरेर एकीकरणको सुत्रपात गरे ।’ सोही एकीकरणको अभियानलाई पृथ्वीनारायण शाहले पूर्णता दिएको उहाँले बताउनुभयो । गोरखाका पाण्डे, पन्त, अज्र्याल, खनाल, राना र बोहराहरुको सहयोगमा द्रव्यशाह देखि पृथ्वीनारायणले नेपाल एकीकरण गरेको मानिन्छ । 


प्रतिक्रिया