प्रदेश २ : निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण

माघ २४, २०७४ | जनकपुर

राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय जनकपुरले निर्वाचित ८ जना राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो । प्रदेश २ राष्ट्रिय सभामा ८ जना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यमा खुल्लातर्फ नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् ।

त्यसैगरी महिला समूहबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरमका प्रमिला कुमारी र माओवादी केन्द्रका शशीकला दाहाल निर्वाचित भएका हुन् । अल्पसंख्यक समूहबाट राजपाका वृषेशचन्द्र लाल र दलित समूहबाट संघीय समाजवादी फोरमका रामपृत पासवान निर्वाचित भएका छन् ।

राष्ट्रियसभा सदस्यका लागि निर्धारण गरिएको आवश्यक समूह अनुसार मात्र उम्मेदवारी दर्ता भएपछि प्रदेश नम्बर दुईमा सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएका हुन् । महिला, दलित र अल्पसाख्यक कोटामा निर्धारण गरिएको सीट अनुसार मात्रै दलहरुबाट उम्मेदवारी दिएको थियो ।

खुल्लातर्फ संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दिएपनि पछि उनले उम्मेदवारी फिर्ता लिएका थिए ।

 


प्रतिक्रिया