दुई तिहाईको स्थायी सरकार : दाहाल

फाल्गुन १६, २०७४ | पर्वत

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाई बहुमत पुर्‍याएर दिगो बनाइने बताउनु भएको छ । मधेसी जनअधिकार फोरम सहित अन्य मधेसी दललाई सरकारमा ल्याउने सहमति जुटिसकेको भन्दै उहाँले सरकारलाई स्पष्ट बहुमत पुग्ने बताउनुभयो । पर्वतमा पश्चिमाञ्चल महिला महोत्सवको उद्दघाटन गर्दै अध्यक्ष दाहालले देशले अब विकास र समृद्धिको यात्रा तय गर्ने बाउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामीले चुनाव अघि तपाईं सामु गरेका बाचा पूरा हुँदैछन्, ‘विगतमा जस्तो सरकार बनाउने र भत्काउने खेल अब हुँदैन । पुराना बाचा पूरा गर्ने कुरामा वर्तमान सरकार प्रतिवद्ध रहनेछ ।’

मधेस केन्द्रित दलहरुलाई सरकारमा ल्याएर स्पष्ट बहुमत सहितको सरकार बनाउँदा देशले स्थायित्व पाउने र देश विकासले गति लिने दाहालको भनाई थियो । मधेस केन्द्रित दलहरुले उठाउँदै आएको संविधान संशोधनको मुद्धामा सहमति भईसकेको भन्दै उहाँले बाँकी विषयमा सहमति जुटाउन प्रधानमन्त्री र आफू निरन्तर छलफलमै रहेको जानकारी दिनुभयो । कांग्रेसलाई पनि चिढ्याउने पक्षमा नरहेको जनाउँदै दहालले प्रतिपक्षलाई पनि सम्मानजनक रुपमा व्यवहार गरिने जानकारी दिनुभयो । 

देशमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव भएपछि अब देशमा आर्थिक विकास र जनताको समृद्धिका सपना पूरा गर्नुपर्ने बेला आएकोले सबै दलहरु यसतर्फ केन्द्रित भएको अध्यक्ष दहालले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले देशमा संक्रमणकाल सकिएको भन्दै अब देशले अर्को नयाँ फड्को मार्ने चरणमा रहेको उल्लेख गर्नुभयो । एमाले र माओवादी बिच ७ बुँदे सहमति भइसकेको र अब पार्टी एकीकरणको काम बाँकी रहेकाले एकीकरण भन्दा पहिला दुवै दलका सदस्य सम्मिलित कार्यदलले एकीकरणको खाका तयार पार्न लागेको जानकारी दिनुभयो । फागुन भित्रै पार्टी एकीकरण हुने उहाँको भनाई थियो ।

फरक प्रसंगमा दाहालले आगामी चुनावमा महिलाहरुलाई प्रत्यक्ष रुपमा चुनाव लड्ने व्यवस्था मिलाईने बताउनुभयो । ‘अहिले महिलाहरुलाई प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्न हामी सबैले अवसर नदिएकै हो, उहाँले भन्नुभयो, ‘आगामी चुनावहरुमा महिलाहरुलाई अवसर दिनुपर्छ भन्नेमा मेरो तर्फबाट सक्दो प्रयास हुन्छ ।’

 


प्रतिक्रिया