प्रदेश ७ मा कांग्रेसले छान्यो संसदीय दलको नेता

जेष्ठ ६, २०७५ | धनगढी

- प्रदेशसभा गठन भएको चार महिनापछि प्रदेश ७ मा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । प्रदेशसभा सदस्य डा. रणबहादुर रावल सर्व–सम्मत रुपमा दलको नेता चयन हुनुभएको छ । प्रत्यक्षतर्फ ४ जना सिट जितेको कांग्रेसका समानुपातिक गरी प्रदेशसभामा १२ जना सांसद रहेका छन् ।

दलको नेताका लागि सुरुमा डा. रावलसहित सांसदहरु भरत खड्का, गोबिन्द बोहरा, डिल्लीराज पन्त, देवराज पाठक र कर्ण मल्ल मुख्य आकांक्षी थिए । आकांक्षी धेरै भएकाले नै दलको नेता चुन्न ढिलाई भएको थियो । प्रदेशमा विवाद चुलिएपछि केन्द्रसम्म आइपुगेको समस्या आपसी छलफल गरी मिलाउन केन्द्रिय कार्यालयले केन्द्रिय सदस्य एनपी साउदलाई पठाएको थियो ।

साउदकै उपस्थितिमा आज आयोजित बैठकले सर्वसम्मत नेता चयन गरेको हो । अन्तिम समयसम्म आकांक्षी रहेका मल्ल र खडकाले डा. रावललाई समर्थन गरेका हुन् । डा. रावल कैलाली क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य समेत हुनुहुन्छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १२ सांसद छन् । प्रदेशसभामा नेकपाका ३९ सांसद छन् । २ सांसद रहेको राजपाले अझै संसदीय दलको नेता चयन गरेको छैन । 

 


प्रतिक्रिया