पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

श्रावण २, २०७५ | पर्वत

भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनारमा रहेका घर बगाउँदा पर्वतको जलजला ८ मा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो । 

प्रहरीका अनुसार, बमबहादुरका १६ वर्षिय छोरा विकास परियार र अन्य ५ जना सम्पर्कबिहीन छन् । ५ जनाको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हिजो साँझदेखिको मुसलधारे वर्षापछि बढेको लस्तीखोलाले कटान गर्दा लस्तीको बरेनेटा नजिकैको गाउँ नै पहिरोको चपेटामा परेको हो । राती करिव १ बजे खसेको पहिरोले बरेनेटाका १६ घर पुरिएपछि त्यहांका बासिन्दाहरु सुरक्षित स्थानतर्फ सरेका थिए । रातको समय भएकोले कतिजना सम्पर्कबिहीन छन् भन्ने यकिन नभएको स्थानीयबासी दिपेश केसीले जानकारी दिनुभयो । 

मिलनचोक प्रहरी चौकीका सहायक निरीक्षक लगायतको टोली राती नै घटनास्थलमा पुगेपनि वर्षा नरोकिएकाले उद्धारमा कठिनाई भएको प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली खटाउने प्रयास भएपनि मालढुङ्गा–बेनी सडकको ठाउँठाउँमा पहिरो गएपछि थप समस्या भएको हो । 

यसैबिच गएराती नै जलजला ७ धाइरिङको बाँस्कोटमा स्थानीय भिमलाल आचार्यको घर पुरिंदा आचार्यसहित परिवारका ६ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको टाउको र ढाडमा गम्भिर चोट लागेको स्थानीयले बताएका छन् । मालढुङ्गा–बेनी सडकमा खसेको पहिरोले उनीहरुलाई उपचारका लागि अस्पताल लैजान समेत कठीन भएको छ । पहिरोले ६ वटा चौपाया समेत मरेको स्थानीय शिव आचार्यले बताउनुभयो ।  


प्रतिक्रिया