पहिरोले पुरिएर पर्वतमा एकको मृत्यु, ६ घाईते (फोटो फिचर)

श्रावण २, २०७५ | नाङ्लीवाङ, (पर्वत)

पर्वतको जलजला गाउँपालिका ८ बरेनेटामा गएराति पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । राति करीब १ बजे घरमाथिबाट खसेको पहिरोले पुरिएर १६ वर्षीय विकास परियारको मृत्यु भएको हो । राति हराइरहेका परियारको शव बिहान करीब ९ बजे पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो । पहिरोबाट जोगिन खोज्दा अरु ६ जना गम्भीर घाइते भएका छन् ।

पहिरो र स्थानीय लस्तीखोलाले कटान गर्दा २५ घरमा पूर्ण क्षति भएको छ । पहिरोका कारण रातिदेखि हराइरहेका अरु ५ जना सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । मंगलबार साँझदेखि परेको मुुसलधारे वर्षा नरोकिएपछि लस्ती बजारबाट करीब चार सय मिटर माथिको बरेनेटा बस्ती माथिको पाँच स्थानबाट एकैसाथ पहिरो खसेको स्थानीयले बताए ।

‘रांके सक्रांती भएकोले रोपाइँबाट फर्केर लुतो फालेर सुत्दा ११ बजेको थियो,’ बमबहादुर परियारले भने, ‘निदाएर व्यूंझिंदा घर तल पुगिसकेको थियो । भाग्दाभाग्दै छोरो पहिरोमै पुरिएछ । ४ बजे बल्ल थाहा भयो ।’

बरेनेटामा सबै विपन्न परिवारको बस्ती छ । बस्तीमा रहेका २४ मध्ये १३ घर पहिरोले सबै पुरेको छ । बाँकी ११ घरको पनि चारैतिरबाट पहिरोले घेरिएका कारण सबै स्थानीय लस्ती बजारको स्कूल र पसलहरुमा झरेका छन् ।

लस्ती बजार हुँदै बगेको लस्तीखोलाले कटान गर्दा ८ घर बस्नै नहुने अवस्थामा पुगेको नाङ्लीवाङका वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो । त्यस्तै जलजला ७ धाइरिङको बांस्कोटमा स्थानीय भिमलाल आचार्यको घर पहिरोले पुरिंदा आचार्य सहित परिवारका ४ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको टाउको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

बिहान अबेरसम्म वर्षा नरोकिएकोले करीब ९ बजे उद्वार टोली पुगेको थियो । नेपाली सेनाको केबलजंग गुल्म, चण्डिका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घाइतेको उद्वार गरी केहीलाई बाग्लुङ र केहीलाई पोखरा पठाएको प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले बताउनुभयो । 


प्रतिक्रिया