कालिकोटका पहिरो पीडित दलित परिवारलाई चौरमा पुर्नस्थापना

श्रावण २४, २०७५ | काठमाडौं

कालिकोटको शुभकालिका गाउँपालिकाले हाउडीका पहिरो विस्थापितलाई नैनेलमाडुमा पुर्नस्थापना गरेको छ । ०७२ भदौ ८ गते पहिलो पटक पहिरो गएपछि प्रत्येक वर्ष निरन्तर पहिरो जाने गरेको शुभकालिका ६ हाउडीस्थित कबलथलाबाट फुटेको पहिरो पीडित २५ दलित परिवारका १ सय ७६ जनालाई गाउँपालिकाले नैनोलमाडुस्थित चौरमा पाल पुर्नस्थापना गरेको हो ।

जोखिममा रहेका दलित परिवालाई गाउँपालिकाले पाल, र जमीन उपलब्ध गराएर बस्ने ठाउँ उपलब्ध गराएको अध्यक्ष खडानन्द चौलागाईले बताउनुभयो । ‘सबै दलित समुदायका घर जोखिममा छन् ।’ अध्यक्ष खडानन्द चौलागाईले भन्नुभयो, ‘पानी परेर पहिरो बगिरहेकोले सुरक्षित ठाउँमा सारेका छौ ।’

उहाँले तत्काल बस्ती सानुपर्ने अवस्था रहेको बताउँदै पहिरोले २५ जना दलित समुदायका दाजुभाईका घर भत्किएकोले बस्ने समस्या रहेको बताउनुभयो । पहिरोले हाउडी गाउँका ३९ जना अन्य शाही घरपरिवारको जग्गा पनि क्षति पुगेको छ । 

साउन दोश्रो सातादेखि लगातार परेको पानीसँगै पहिरो बग्न थालेपछि घरमा बस्न नसकिएको स्थानीय हरिलाल दमाईले बताए । उनको ९ जनाको परिवार छ । कतिखेर मरिन्छ भनेर डरले रात काट्थ्यौ । गाउँपालिकाले नैनेलमाडुमा बस्ने ठाउँ बनाएर पाल, ओछ्याउने पिफम केही कपडा दिएपछि खुशी हुँदै दमाईले भने ‘अब बाचिने भइयो ।’

जिल्लाका दलित परिवारका पहिरोले घर, पाखोवारी, भाडाकुँडा र खाद्यान्न क्षति पुर्‍याएको गाउँपालिकाका उपाध्यष पम्फाकुमारी शाहीले बताउनुभयो । उहाँले अधिकांश परिवारसँग बिहान बेलुकी खाने अन्न र लगाउने कपडा नभएको सुनाउँदै गाउँपालिकाको सहयोगले नपुग्ने भएकाले अन्य निकायलाई पनि सहयोगको लागि अनुरोध गर्नुभयो ।

गाउँपािलकाले उपलब्ध गराएको खाली चौरमा खानेपानी, शौचालयको पनि अभाव छ भने कतिपय परिवारका ११ जनासम्म जहान भएकाले दिएको पालमा सुत्न पनि कठिनाई छ । मेरा त ११ जनाको परिवार छ । शुभकालिका ६ हाउडीमा मन्दिरे कामीले भने ‘छोराबुहारी, नाततिनातिना सबै सगै सुत्नुपर्ने अवस्था छ ।’

उनले पहिरो पीडितका लागि गतिलो ठाउँमा स्थायीरुपले बस्ने ठाउँको माग गरे । समस्या समाधान गर्न प्रदेश सरकारलाई अनुरोध गरिने बताउँदै प्रदेश सांसद कुर्मराज शाहीले पहिरो रोकथामका लागि ग्यावीन सहितको पर्खालको योजनाका लागि आफूले पहल गरेको जानकारी बताउनुभयो ।   


प्रतिक्रिया