बन्दले कालिकोटको जनजीवन प्रभावित, दुई पक्राउ

श्रावण २९, २०७५ | कालिकोट

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउको विरोधमा गरिएको नेपाल बन्दका कारण कालिकोटको जनजीवन प्रभावित भएको छ । कालिकोट प्रकाण्डको गृह जिल्ला हो । बन्दको प्रभाव सदरमुकाम मान्ममा आशिंक प्रभाव परे पनि ग्रामीण भेकका विद्यालय र यातायातका साधन चलेनन् ।

कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक खण्ड बन्द रह्यो । सदरमुकाम मान्म आसपासका सरकारी विद्यालय पनि विप्लवको बन्द भन्दै संचालन भएनन् । विद्यालयमा विद्यार्थी गए पनि शिक्षक नगएकाले बालबालिका घर फर्किन बाध्य भएको बाल अधिकारकर्मी प्रकाश शाहीले बताए ।

बन्दको क्रममा विप्लव कायर्यकर्ताले दुई ठाउँमा विष्फोट गराएका छन् । सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालय नजिकै र सदरमुकामबाट १६ किमि टाढा कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने काले खोला नजिकै प्रेसर कुकर बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

विष्फोटमा संलग्न भएको आरोपमा प्रकाण्डको गाउँ माल्कोटका अनिपाल विश्वकर्मालाई पक्राउ गरेको छ भने काले खोलाको विष्फोटमा संलग्न भएको आरोपमा सान्नीत्रिवेणी गाउँपालिका ९ मुम्राका २३ वर्षीय काशी दर्जी पक्राउ परेका छन् ।

विष्फोट गराएर भाग्दै गरेको अवस्थामा प्रहरीले दर्जीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक निरोज चौलागाईले बताउनुभयो । 

 


प्रतिक्रिया