असारे विकास रोक्न भदौमै काम

भाद्र ११, २०७५ | कालिकोट

आर्थिक वर्ष सकिनै लाग्दा विकासे बजेट सक्न हिलाम्बे सडकमा पिच, बाटै नभएको ठाउँमा पुल निर्माण, शीर्षक बिनै रकम निकासा भएको त हामीले सुनेका र देखेकै छौं तर त्यसको ठीक विपरीत कालिकोटमा असारमा मात्र हुने त्यस प्रकारका काम रोक्न भदौबाटै काम सुरु भएको छ ।  

कालिकोटको पलाता गाउँपालिका असारको चटारो कम गर्न भदौबाटै सक्रिय भएको छ । बैशाख जेठमा सम्झौता गर्ने र असारको झरीमा हतारहतार काम गर्दा गुणस्तर नहुने भएकाले नयाँ आर्थिक वर्षको सुरुबाटै पलाता गाउँपालिकाले काम थालेको हो ।

विकास निर्माणको काममा अनियमितता चर्को बहसलाई निमिट्यान्न पार्न पनि सो गाउँपालिकाले नयाँ आर्थिक वर्षको सुरुमै योजनाको सम्झौता गरेर काम थालेको हो । पलाता कालिकोटको सबैभन्दा विकट र अभावग्रसत गाउँपालिकाको रुपमा चिनिन्छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्माले बजेटको सही सदुपयोग गर्न पनि आर्थिक वर्षको सुरु मै विकासे कामको थालनी गरेको बताउनुभयो । वर्षको सुरुमै काम गर्दा समयको पनि चाप नहुने र उपभोक्तालाई पनि जवाफदेही बनाउन सहज हुने कुस्माको तर्क छ । कुस्माले भन्नुभयो ‘अनुगमनका लागि पनि पर्याप्त समय हुने भएकाले कामको गुणस्तरमा कम्प्ररमाइज गर्नुपर्ने अवस्था रहदैन ।’

योजना फाटका नायब सुब्बा राजवहादुर बमका अनुसार, पलाताले आर्थिक वर्षको सुरु मै योजना बनाएर भदौ पहिलो सताबाटै वडामार्फत उपभोक्ता समिति समेत गठन गरेको छ । सोही समिति मार्फत अधिकांश योजनाको सम्झौता पनि भइसकेको छ । बमले हसिलो अनुहारमा भन्नुभयो, वडा, गाउँसभा हुँदै योजना तर्जुमा प्रक्रियाबाट छनोट भएका आयोजनाको इस्टीमेट गरेर काम पनि द्रुत गतिमा अघि बढेको छ । 

पलाता गाउँपालिकाले यस वर्षदेखि १ सय ५० जना युवाको सहभागितामा विकास निर्माण कार्यदल नै गठन गरेको छ । मासिक २४ हजार रुपैयाँ पारिश्रमिक पाउने गरी कार्यविधि पारित गरेरै गाउँपालिकाले युवा परिचालन गरेको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पनि ‘हतार हतारमा काम गर्दा गतिलो नहुने भएकाले समयमै काम थालिएको बताउंदै हरेक योजनाको ६ महिना भित्र काम सक्ने गरी उपभोक्ता समितिसँग सम्झौता भएको बताउनुभयो । सम्झौता हुन बाँकी योजनाका लागि पनि सबै वडा कार्यालयलाई पहल गर्न गाउँपालिकाले पत्राचार गरेको छ । 

पलातामा चालू आर्थिक वर्षमा सञ्चालन हुने २० भन्दा बढी योजनाको सम्झौता भइसकेको जनाउंदै गाउँपालिकाले असोज मसान्तसम्म एक सय वटा योजनाको सम्झौता गर्ने बताएको छ । हालसम्म खानेपानी, साना सिंचाई, विद्युत, सडक, विद्यालय भवन लगायतका पूर्वाधार, नदी नियन्त्रण, पर्यटन प्रर्वद्धन लगायतका योजनाको सम्झौता भएर काम सुरु भएको छ । 

पलाता गाउँपालिकामा यसवर्ष ५० हजारदेखि २ करोड रुपैयाँ सम्मका १ सय बढी योजना छन् । तीमध्ये सबैभन्दा बढी वन तथा खानेपानी निर्माण गर्ने टुक्रे योजना छन् । 

प्रदेश सरकार अन्तर्गतका कार्यक्रममा १३ योजनाका लागि १४ करोड रकम छ । प्रदेश र गाउँपालिका गरी ५ करोड बढी रकम त सडक निर्माणमा मात्र खर्च गरिने छ । पलाता गाउँपालिकाले यस वर्ष सबै गरी ४१ करोड रुपैयाँ खर्च गर्नेछ । 


प्रतिक्रिया