सुशीला कार्कीको 'न्याय' भदौ अन्तिम सातादेखि बजारमा आउने

रेडियो कान्तिपुर संवाददाता

भाद्र १९, २०७५ | काठमाडौं

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ असोज पहिलो साता सार्वजनिक हुने भएको छ । बुकहिल पब्लिकेशन्स्ले आज राजधानीमा पुस्तकको पहिलो लुकसँगै  विमोचनको मिति सार्वजनिक गरेको हो । पब्लिकेशन्सका अध्यक्ष भूपेन्द्र खड्काले भदौ अन्तिम साता न्याय बजारमा उपलब्ध हुने जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुनुको नाताले अरुलाई प्रेरणा दिन पुस्तक लेखको बताउनुभयो । त्यस्तै आफूले भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई पुस्तकमा उतारेको उहाँले बताउनुभयो । उहाँले भन्नभुयो, ‘३० वर्ष मैले गरेको वकालत र ८ वर्ष न्यायालयमा बिताएको समयको हरहिसाब पुस्तकका समेटेको छु ।’

न्यायालयको नेतृत्व गरिसकेको व्यक्तिले पुस्तक लेख्ने चलन नभएपनि न्यायालयमा ल्याउनुपर्ने परिवर्तन र जनताले यसबारे जान्न पाउनुपर्ने भएकाले किताब लेख्न हौस्याएको कार्कीले बताउनुभयो । उहाँका अनुसार पुस्तकमा लोकमानसिंह कार्कीको मुद्दादेखि फास्ट ट्रयाक घोटाला गरी १० वटा मुद्दा पुस्तकमा अटाएको छ । उहाँले भन्नुभयो,‘किताब लेख्दा न्यायालयका धेरै कुरा बाहिर आउँछन् ।

यस्तो नगर्दा राम्रो होला भनेर धेरैले सुझाएका थिए तर राम्रो कुराको गापनियता हुँदैन । यसबारे अरुले थाहा पाउनुपर्छ भन्ने लागेर किताब लेखेको हूँ ।’ न्याय आफूले न्यायालयमा बिताएका समयको फेहरिस्त मात्रै नभएर आफ्नो जीवनको रंगहरुको संगालो भएको उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा कार्कीका श्रीमान् दुर्गा सुवेदीले आत्मकथा भएपनि न्याय कर्मको लेखाजोखा भएको बताउनुभयो । यो फगत आत्मकथा मात्रै नभएर प्रधानन्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऐतिहासिक दस्ताबेज भएको उहाँको भनाइ थियो । 

बुकहिलले बजारमा ल्याउन लागेको ३ सय ९२ पृष्ठको न्यायको पातलो गाताको मूल्य ६ सय ५० र हार्ड कभरको मुल्य ९०० सय रुपैयाँ राखिएको छ । 


प्रतिक्रिया