जानकी मन्दिर व्यवस्थापनका लागि ७ करोड

आश्विन १, २०७५ | जनकपुर

प्रदेश २ सरकारले प्रसिद्ध धार्मिकस्थल जनकपुरधामस्थित जानकी मन्दिरलाई सौन्दर्यकरण गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउन ७ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत जानकी मन्दिर परिसरमा पर्यटकीय आकर्षणका लागि भौतिक संरचना निर्माण गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रतिक्षामा रहेको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर परिसरमा स्वच्छ, सुन्दर, रमणीय स्थलहरुको निर्माण, सरसफाइ, बगैंचा निर्माण गरी हरियाली बनाउने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले दक्षिण एसियाका हिन्दूहरुको आस्थाको केन्द्र, पवित्र धार्मिकस्थल जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको रुपमा विश्वभर चिनाउन मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यकरण परियोजना शुरु गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

रेक वर्ष लाखौंको संख्यामा दर्शनार्थी, श्रद्धालु भक्तजनहरु जानकी मन्दिरमा पूजाआजा गर्न आउने गरेकाले थप व्यावस्थापन गर्न लागेको मुख्यमन्त्री राउतको प्रस संयोजक आतिश मिश्रले बताउनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा चारैतीर ग्रेनाइट लगाउने र रङ्गीचङ्गी बनाउनका लागि लागत स्टमेट समेत तयार भइसकेको छ ।

‘मन्दिरभित्र र बाहिर निकै आकर्षणयुक्त बनाउने योजना छ, जानकी मन्दिर सौन्दर्यकरण गर्न मुख्यमन्त्रीको मूख्य चासो छ, प्रेस संयोजक मिश्रले भन्नुभयो, ‘मन्दिर प्रवेशलाई थप व्यावस्थित बनाइ नयाा गेट निर्माण गरिने छ ।’

जानकी मन्दिर परिसरमा आकर्षक भौतिक संरचना निर्माणका लागि मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भइसकेको छ । मुख्यमन्त्री स्वच्छता अभियानको पहिलो चरणमा ७ करोड रुपौयाँ लगानीमा भौतिक संरचना निर्माण गरेपछि विश्वभरका पर्यटकलाई कम्तिमा एकपटक जनकपुरधाम आउने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनको लागि केही दिनभित्रै टेण्डर प्रक्रिया शुरु हुने प्रेस संयोजक मिश्रले बताउनुभयो । यसअघि मुख्यमन्त्री राउतले प्रदेश नं २ को राजधानी समेत रहेको जनकपुरको मुटु जानकी मन्दीरबाटै मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ गर्नु भएको थियो ।

यसअघि गैर आवाशीय नेपाली संघ एनआरएनले जानकी मन्दिरलाई उज्यालोयुक्त बनाउन लाइटिङ सिस्टमको लागि ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने मन्दिर व्यावस्थापनसँग सम्झौता गरी काम सुरु गरिससकेको छ । एनआरएनले मन्दिरभित्र चारैतीर अत्याधुनिक बत्ती जडान गर्न लागेको छ ।


प्रतिक्रिया