सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिको बयान

आश्विन १३, २०७५ | नेपालगञ्ज

बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिहरुको बयान लिने काम शुरु गरेको छ । आयोगका प्रवक्ता बिष्णु पाठकले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिहरुको बयान लिने काम शुरु भएको बताउनुभयो ।

उहाँले  घटनाको अनुसन्धानपछि कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने जानकारी दिनुभयो । सरकारले उनीहरुलाई कारबाही नगरे अन्तर्राष्ट्रिय अदालतको ढोका खुला रहेको उहाँको भनाई छ ।

बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगका अनुसार बाँकेबाट १ सय २५ उजुरी दर्ता भएको छ । त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ हजार ६९ उजुरी छानविनका लागि उजुरी परेका छन् ।

द्वन्द्वकालिन घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको बेपत्ता छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिन पाएका पीडितहरु निकै उत्साहित भएका थिए । तर वर्षौसम्म बेपत्ताको अवस्था सार्वजनिक नभएपछि निराश भएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जको तथ्यांक अनुसार बाँकेमा सशस्त्र द्वन्द्वका क्रममा १ सय ३० व्यक्तिको हत्या भएको छ भने करीब ८२ जना बेपत्ता छन् । अधिकारवादी संस्थाहरुका अनुसार बाँके जिल्लामा २ सय ८२ को हत्या भएको छ ।

राज्य पक्षबाट ९४ र विद्रोही माओवादी पक्षबाट १ सय ८८ व्यक्तिको हत्या भएको थियो । राज्य पक्षबाट ५७ र माओवादी पक्षबाट ४ गरी ६१ व्यक्ति बेपत्ता पारिएका छन् । द्वन्द्वका क्रममा १४ व्यक्तिको अंगभंग भएको छ ।


प्रतिक्रिया