पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु, १३ घाइते

जेष्ठ ३, २०८१ | पाल्पा

पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क) स्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो । 

दुर्घटनामा निस्दी गाउँपालिका–४, घ्याङसीवासका १६ वर्षीय तेजन सोमै र निस्दी–४, बेलखर्कका ७ वर्षीय राजीव सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

सोमै नवलपरासी पूर्वको अरुणखोलाबाट चढेका थिए भने सुनारी एक किलोमिटर नजिक लामीदमारबाट जिपमा चढेका हुन् । निस्दी–३, खादरतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा घाइते भएका २७ वर्षीय धामीसरा सुनारीको पनि अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रहरी चौकी रुक्सेभन्ज्याङ र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोली र स्थानीय बासिन्दाले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरेका थिए । 

घाइते १३ जनाको चितवन मेडिकल कलेज भरतपुर र नवलपरासी पूर्वको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ । 

घुम्ती कच्ची र उकालो सडकमा जिपको ब्रेक नलागेपछि दुर्घटनामा परेको स्थानीयले बताए । नवलपरासी पूर्वको अरुणखोलाबाट थोरै यात्रु ल्याएको जिपले निस्दी–४, लामीदमारबाट यात्रु थपेको थियो । स्थानीय मित्यालका धनबहादुर ठाडाका अनुसार अधिकांश घाइतेहरु बेलखर्कका छन् ।


प्रतिक्रिया