पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा ७ र डिजेलमा लिटरमा ५ रुपैयाँ

जेष्ठ ३, २०८१ | काठमाडौं

नेपाल आयल निगमले आजबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको गएरातिको बैठकले आजबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो । 

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । 

आइओसीले हिजो पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ ९ पैसा घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ । 

मूल्य घटेसँगै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर १५४ रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ तोकिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा पेट्रोल १६८ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेलको भाउ प्रतिलिटर एक सय ५१ रुपैयाँ ५० पैसा कायम भएको छ । 

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटर दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।


प्रतिक्रिया