ठेक्का सम्झौताको म्याद सकियो, निर्माण कार्य अधुरै

पुस ४, २०७५ | जनकपुर

– एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माणाधिन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिएपछि जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत एकीकृत शहरी विकास परियोजना अधुरै रहेको छ । जग्गा विवाद, मुआब्जा, घर भत्काउने र पुन:निर्माणको विषयमा लामो समय स्थानीयबासीको अवरोध हटाउँदै काम गर्नु परेकाले ठेक्का सम्झौताको म्याद गुज्रिएको हो । सडक विस्तारको क्रममा उत्पन्न अवरोध र विवाद उपमहानगरपालिकाले समाधान गरेपछि ठेकेदारले निर्माण कार्य गर्ने सर्तअनुसार आयोजना अन्तिम चरणको निर्माणाधिन अवस्थामा सम्झौताको म्याद सकिएको हो ।

जनकपुर उपमहानगरपालिकाले १५ जुन २०१८ मा ५ डिसेम्बरसम्म ठेकेदार जेडआइपिसी रमन कन्स्ट्रक्सन कम्पनीलाई थपेको म्याद सकिएपछि अन्तिम चरणको निर्माण कार्य पूरा गर्न थप तीन महिनाका लागि म्याद थप गर्ने तयारी रहेको जनकपुर उपमहानगरपालिका अन्तर्गत एकीकृत शहरी विकास आयोजनाका प्रमूख इन्जिनियर वीरेन्द्रकुमार यादवले बताउनुभयो । इन्जिनियर यादवले ९० प्रतिशत भन्दा बढी काम भइसकेको र अब अन्तिम चरणको निर्माण कार्य भइरहेको बताउनुभयो ।

ठेकेदार जेडआइपिसि र रमन कन्स्ट्रक्सन कम्पनीले संयुक्त रुपमा २०१६ देखि शुरु गरेको सडक विस्तारको लागि ९८ करोड ९८ लाख रुपैंयाँमा ठेक्का सम्झौता भएको छ । सडक विस्तारको क्रममा भत्काइएका घरजग्गाको मुआब्जा, क्षतिपूर्ति वा राहत केही नदिइएकाले उपमहानगरपालिकाप्रति पीडित सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

 


प्रतिक्रिया