आगलागीले कालीकोटको खाडा गाउँ नै सखाप

पुस ९, २०७५ | कालीकोट

- भीषण अगलागीले कालीकोटको विकट पलाता १ स्थित खाँडा गाउँ पूरै सखाप भएको छ । बिहान ३ बजेबाट सुरु भएको आगलागीले ३२ घर रहेको सो वस्ती पूरै नष्ट भएको हो । स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरको छाना भएको खाँडा गाउँका घरहरु छिनभरमा सखाप भएको सहकर्मी तुलाराम पाण्डेले जनाएका छन् ।

सुख्खाग्रस्त पलाता क्षेत्रमा पानीको स्रोत नजिक नभएकाले आगलागी नियन्त्रण गर्न सम्भव नभएको जिल्ला प्रहरीले जानएको छ । आगलागी नियन्त्रणका लागि पलातावासीले स्थानीय स्रोतसाधनको प्रयोग गरेपनि दमकल तथा पानीको अभावमा सम्भव नभएको गुनासो गरेका छन् । आगो नियन्त्रणका लागि पलाता विकास निर्माण कार्य दलका ४० सदस्य खटिएका थिए भने गाउँपालिकाले नजिकका गाउँसंग पनि सहयोग मागेको थियो ।

नजिकैको प्रहरी चौकी समेत गाउँबाट करिब चार घण्टाको पैदल दुरीमा पर्छ । सो वस्ती पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको घर रहेको वस्ती हो । मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको बताउँदै प्रहरीले भौतिक क्षतिको लगत संकलन सुरु गरेको जनाएको छ । घटनास्थल सदरमुकाम मान्मबाट २१ कोष टाढा बाजुरा जिल्ला नजिक पर्छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमकाअनुसार स्काइ मोबाइल मात्र टिप्ने पलातामा टावर गएपछि राती ३ बजेपछि सम्पर्क हुन सकेको छैन । सदरमुकाम मान्मबाट सशस्त्र प्रहरीको टोली पलाता गएको छ ।  

 


प्रतिक्रिया