कालीकोट आगलागी : पानी अभावमा ४७ घर नष्ट (अपडेट)

पुस ९, २०७५ | कालीकोट

- भीषण अगलागीले कालीकोटको विकट पलाता १ स्थित खाँडा गाउँका ४७ वटा घर जलेका छन् । बिहान ३ बजेबाट सुरु भएको आगलागीले १ सय १० घर  रहेको सो वस्तीका ४७ वटा घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछिको भागदौडमा ७ जना घाईते भएका छन् । स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरको छाना भएको खाँडा गाउँका घरहरु छिनभरमा सखाप भएको थियो । सुख्खाग्रस्त पलाता क्षेत्रमा पानीको स्रोत नजिक नभएकाले आगलागी नियन्त्रण गर्न सम्भव नभएको जिल्ला प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि पलातावासीले स्थानीय स्रोतसाधनको प्रयोग गरेपनि दमकल तथा पानीको अभावमा सम्भव नभएको गुनासो गरेका छन् । आगो नियन्त्रणका लागि पलाता विकास निर्माण कार्य दलका ४० सदस्य खटिएका थिए भने गाउँपालिकाले नजिकका गाउँसंग पनि सहयोग मागेको थियो । नजिकैको प्रहरी चौकी समेत गाउँबाट करिब चार घण्टाको पैदल दुरीमा पर्ने भएपछि सुरक्षाकर्मी पुग्न समेत ढिलाई भएको थियो । करीब १० घण्टामा आगलागी आफै नियन्त्रणमा आएको सहकर्मी तुलाराम पाण्डेले जनाएका छन् । सो वस्ती पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको घर रहेको वस्ती हो । 

मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको बताउदै प्रहरीले भौतिक क्षतिको लगत संकलन सुरु गरेको छ । घटनास्थल सदरमुकाम मान्मबाट २१ कोष टाढा बाजुरा जिल्ला नजिक पर्ने भएकाले सशस्त्र प्रहरी टोली समेत घटनास्थल पुग्न समय लागेको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमकाअनुसार स्काइ मोबाइल मात्र टिप्ने पलातामा आगलागी लगत्तै राती ३ बजेपछि सम्पर्क हुन सकेको छैन । 

 


प्रतिक्रिया